काठमाडौँ —
नेकपा एमालेले विधान महाधिवेशनको तयारीमा थालेको छ । भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ । यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशनको तयारीका लागि बुधबार केन्द्रीय सचिवालयको बैठक बस्ने प्रवक्ता राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठकको मुख्य प्रस्ताव विधान महाधिवेशनको तयारी रहेको छ ।‘पदाधिकारी बैठकमा मुख्यगरी विधान महाधिवशेनको तयारी छ,’ उनले भने, ‘महाधिवेशनमा विधान संशोधन, राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छन् । ती प्रतिवेदनको तयारीका लागि समिति गठन गर्ने प्रचलन छ ।’
एमालेको यो विधान महाधिवेशनमा मुख्य गरी विधान संशोधनको विषयमा चर्को बहस हुने छ । पार्टीभित्र कार्यकारी पदमा रहने उमेर हद राख्ने/नराख्ने, दुई कार्यकाल तोक्ने/नतोक्नेलगायत विषयमा बहस हुन थालिरहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको तयारी भइरहेका बेला विधान संशोधनको बहस तीव्र हुन थालेको छ । एमालेको विधान महाधिवेशन पाँच वर्षअघि गोदावरीमा भएको थियो । आगामी महाधिवेशन भदौ तेस्रो साता गर्ने तयारी छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसकेकोले तेस्रो कार्यकाल हुन पाउने/नपाउनेबारे छलफल सुरु भएको छ । त्यस्तै हालको विधानमा ७० वर्षे उमेरहदको प्रावधान भए पनि यो निलम्बनको अवस्थामै रहेकाले यी दुई विषयमा बहस सुरु भइसकेको छ । भण्डारी सक्रिय राजनीतिमा आउने तयारी भएकाले उनीनिकट नेताहरूले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल राख्नुपर्ने लबिङ सुरु गरेका छन् । यीमध्ये एक प्रावधान राखे ओलीलाई रोक्न सकिने उनीहरूको तयारी छ ।
उता ओली भने विधान अधिवेशनमा उमेर हद हटाउने, कार्यकारी पदमा दुईभन्दा बढी रहन पाउने विधान निर्माण गर्ने तयारीमा छन् । ओली पक्षले मुलुकको सर्वोच्च निकायमा भएको व्यक्ति सक्रिय राजनीतिमा आउन नपाउने प्रावधान विधानमा उल्लेख गरी पूर्वराष्ट्रपति भण्डारीलाई छेक्ने रणनीतिमा लागेको एक नेताले बताए । हालै मात्र ओलीले पार्टीमा ७० वर्षे उमेरहदको फेल खाइसकेको विषय भएको बताएका थिए । पार्टी नेतृत्वमा उमेरभन्दा पनि स्वास्थ्य र कार्यक्षमता हेरिनुपर्ने उनको भनाइ छ ।
२०८० जेठमा बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको हो । उक्त बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको थियो । एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्षे प्रावधान ल्याएको थियो ।
त्यस्तै गत साता ओलीसँग भएको भेटवार्तामा भण्डारीले आफू सक्रिय राजनीतिमा आउन चाहेको बताइसकेकी छिन् । ‘कुनै पद नभनी पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो,’ भण्डारीनिकट नेताले भने, ‘विद्या भण्डारी सकेसम्म ओलीको समर्थनमा पार्टी नेतृत्वमा आउन चाहनुहुन्छ ।’ तर ओलीले भण्डारी सक्रिय राजनीतिमा आउने कुराको विरोध नगरी आपसी छलफलबाट टुंगोमा पुग्ने बताएका थिए ।
एमाले प्रवक्ता गौतमले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने विषय पार्टीमा औपचारिक रूपमा प्रवेश नपाएको बताए । ‘यो विषयले औपचारिक रुपमा प्रवेश पाएको छैन । तर राजनीतिमा आउने नै हो भने पनि सहमतिमै हुन्छ,’ उनले भने । बुधबार हुने सचिवालय बैठकमा सरकारको काम कारबाहीबारे पनि समीक्षा हुनेछ । ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्न लागेको सन्दर्भमा सरकारबारे समीक्षा गर्ने तयारी छ ।