कपिलवस्तु — उनीसँग ब्याट र बल किन्न सक्ने क्षमता थिएन । तर, उनीसँग क्रिकेट खेल्ने सीप, लगन र क्षमता भने थियो । क्रिकेटमा उनी असाध्यै क्रेजी । खानसमेत भुल्थे । पाठ्यपुस्तकभन्दा ब्याट र बलमै बढी ध्यान जान्थ्यो । बावुआमा भने सामान्य खेतीपाती र साँझबिहान ज्याला मजदुरी गरेरै परिवारको छाक टार्थे ।
छोराको रुचि भने खर्चिलो थियो । अभाव र पीडाबीच क्रिकेट खेल्दै आएका १५ वर्षे रौनक श्रीवास्तव नेपाली क्रिकेट इतिहासमा अविस्मरणीय कीर्तिमान बनाएर चर्चामा छन् ।
कृष्णनगर नगरपालिका–१, मडहाका रौनक १५ वर्ष ८ महिनाका भए । ५ वर्षको उमेरदेखि क्रिकेट खेल्दै आएका उनले सुर्खेतमा जेठ तेस्रो साता आयोजित टीबी शाह मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका लागि दोहोरो शतक बनाएका थिए ।
वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकी प्रदेशविरुद्ध टस जितेर ब्याटिङ गरेको लुम्बिनीका लागि रौनकले २ सय १७ रन बनाए । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरेर दुर्लभ कीर्तिमान बनाएको राखेको कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरले बताए ।
लक्ष्मण कुमालले ६० रन थप्दा लुम्बिनी ४७ ओभरमा ४ सय ३ रन बनाएर अलआउट भएको थियो । ‘नेपालको कुनै पनि घरेलु क्रिकेट खेलमा बनेको यो सर्वाधिक स्कोर हो,’ अध्यक्ष गैरेले भने, ‘घरेलु क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाइएको कीर्तिमान पनि हो ।’
सात प्रदेशका यू–१६ टोली सहभागी प्रतियोगिताको पहिलो खेलमै घरेलु क्रिकेटका लागि गर्विलो कीर्तिमान बनाएका रौनकले दुई उपाधि जिते । वेस्ट ब्याटर र प्लेयर अफ द सिरिज भएर उनले १५ हजार पुरस्कार पाएका थिए ।
उनले ५ खेलमा कुल ३३५ रन बनाउनुका साथै २ विकेट विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा पहिलो दोहोरो शतक र सर्वाधिक व्यक्तिगत रन हो । रौनक चम्किएको खेलमा लुम्बिनीले गण्डकीमाथि ३३२ रनको फराकिलो जित निकाल्यो । यो घरेलु क्रिकेटमा सबैभन्दा फराकिलो जित पनि हो । लुम्बिनीले दिएको ४ सय ४ रनको विशाल लक्ष्य पाएको गण्डकी २८.२ ओभरमा ७१ रनमै अलआउट भएको थियो ।
नयाँ बल ब्याट किन्न नसक्ने भएपछि सानोमा रौनक घरमै काठको ब्याट र कपडाको बल बनाएर खेल्थे । क्रिकेटकै ब्याट र बलले खेल्नुपर्यो भने साथीभाइकहाँ पुग्नुपर्थ्यो। उनीहरूलाई फकाउनुपर्थ्यो । फकिएपछि आनन्दले खेल्न पाउँदा खुसी हुने उनले भोलि पनि खेल्न पाइयोस् भनेर कामना गर्थे । ‘मिहिनेत र संघर्ष गर्दै गएँ । हरेस खाइनँ । बाबुआाले पनि खाई नखाई सधैं उत्प्रेरित गर्नुभयो । त्यसैको परिणाम अहिले पाउँदै छु,’ रौनकले गफिँदै सुनाए ।
सुर्खेतमा गरेको प्रदर्शनले आगामी साता मलेसियामा हुने यू–१६ को एसीसी क्रिकेट प्रतियोगिताका लागि उनी छनोट भएका छन् । अहिले उनी मलेलिया जान काठमाडौं पुगेका छन् । उनले भने, ‘यसले अझ निखारिँदै मुलुकका लागि केही गर्न सक्छु भन्ने सन्देश दिन चाहन्छु ।’
अलराउन्डर रौनकले सन् २०२२ मा भएको बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट डेब्यु गरेका थिए । पोखरामा २०२४ मा भएको यू–१६ मनमोहन कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि खेलेका थिए । उनले भर्खर भैरहवामा सम्पन्न प्रदेशस्तरीय क्रिकेट खेलाडी छनोटमा कपिलवस्तु र पाल्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । यू–१६ खेलाडी छनोट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेपछि उनी टिबी शाह मेमोरियल कपलाई छनोटमा परेका हुन् ।
रौनकले १० वर्षको उमेरदेखि सीमावर्ती भारतको सिद्धार्थनगर नौगढस्थित गौतमबुद्ध क्रिकेट ऐकेडमीमा प्रशिक्षण लिँदै आएका थिए । त्यहाँ उनी दैनिक अभ्यास गर्थे । प्रशिक्षक विपिन त्रिपाठीको निर्देशनमा खेल्दा आफ्नो प्रदर्शन तिखारिएर उनी सुनाउँछन् । सदरमुकाम तौलिहवास्थित बुद्धपद्म माविमा कक्षा ८ पढ्दापढ्दै छाडेर उनी ब्याट र बलतर्फ लागेका हुन् ।
छोटो समयमा क्रिकेटमा उनको उपलब्धिले आफू निकै खुसी भएको कृष्णनगर नगरपालिका नगरप्रमुख रजतप्रताप शाहले बताए । ‘मेरै नगरपालिकाका भाइको खुसीले सिंगो नगरपालिकाको शिर उँचो भएको छ,’ उनले भने । रौनकको हौसलाका लागि आफूले व्यक्तिगत २१ हजार दिने मेयर शाहले बताए ।
‘छोरा नपढेपछि निकै दुःखी र चिन्तित हुन्थें, तर अहिले छोराले क्रिकेट खेलेर पाएको सम्मानले खुसी छु,’ रौनकका पिता अशोकले खुसी यसरी साटे ।