वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी कोष अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ। वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगसहित आइतबार पर्सा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गरिएको हो।
पर्सा प्रहरीले करिब एक महिनाअघि अनुसन्धान सम्पन्न गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। अब अदालतमा मुद्दाको प्रक्रिया अगाडि बढ्नेछ।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार रवि लामिछानेमाथि ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
लामिछानेको प्रतिवाद : म सहकारीसँग सम्बन्धित थिइनँ
प्रतिवादीका हैसियतमा रवि लामिछानेले आफ्नो लिखित बयानमार्फत आफूमाथि लगाइएको सम्पूर्ण आरोप अस्वीकार गरेका छन्। उनले भनेका छन्:
- पछिल्लो पाँच वर्षमा सञ्चारकर्मी र राजनीतिक कर्मीका रूपमा कार्यरत थिएँ। न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा आबद्ध भए पनि मैले कतै शेयर वा ऋण लगानी गरेको छैन।
- गोर्खा मिडिया नेटवर्कमा मलाई बिना लगानी १५ प्रतिशत शेयर प्रस्ताव गरिएको थियो। यो प्रस्ताव सञ्चालक गितेन्द्रबाबु राई र छविलाल जोशीबाट आएको थियो।
- म कम्पनीको लगानीकर्ता होइन, एक कर्मचारी मात्र थिएँ। म चेकमा हस्ताक्षरकर्तामध्ये एक भए पनि सबै वित्तीय निर्णय कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको निर्देशनमा हुन्थे।
- चेकमा हस्ताक्षर गर्नु कम्पनीको सम्पूर्ण आर्थिक कारोबारमा संलग्न हुनु होइन। व्यावसायिक विश्वसनीयताको कारण कहिलेकाहीँ खाली चेकमा समेत हस्ताक्षर गरिएको थियो।
- सानो पाइला सहकारी संस्थाको नामसमेत मैले पहिले सुनेको थिइनँ। म न त सो सहकारीको सदस्य हुँ, न त ऋण लिएको छु, न कुनै फारम भरेको छु। के कसले मेरो नाममा खाता खोलेर प्रयोग गर्यो भन्नेबारे छानबिन होस्।
संसदीय छानबिन समितिले पनि निर्दोष ठहर गरिसकेको दाबी
लामिछानेले यसअघि संसदीय छानबिन समितिले पनि आफू गोर्खा मिडिया नेटवर्कको आर्थिक कारोबारमा संलग्न नभएको पुष्टि गरिसकेको दाबी गरेका छन्। उनले गोर्खा मिडियामा आफ्नो भूमिका केवल प्रसारण सामग्रीसँग सम्बन्धित रहेको र सहकारीसँग प्रत्यक्ष वा परोक्ष कुनै पनि सम्बन्ध नरहेको दोहोर्याएका छन्।
अब अदालतमा मुद्दा अगाडि बढ्नेछ, र प्रारम्भिक सुनुवाइपछि पक्ष–विपक्षका कागजात र प्रमाणका आधारमा निर्णय हुनेछ। लामिछानेले कानुनी प्रक्रियामार्फत आफ्नो निर्दोषिता प्रमाणित हुने विश्वास व्यक्त गरेका छन्।

