काठमाडौँ — झट्ट हेर्दा उस्तै देखिने । प्याकेजिङ र बोटलको लोगो उस्तै–उस्तै । बजारमा यस्ता वस्तु धेरै पाइन्छन् । कस्मेटिक, खाद्य तथा पेय पदार्थदेखि पेन्ट्ससम्मका नाम चलेका ब्रान्डको जस्तै डिजाइन तथा प्याकिङले कतिपय उपभोक्ता दुविधामा पर्छन् ।
उस्तै ट्रेडमार्क भएको भन्दै लगानीकर्ता व्यवसायीबीच विवाद बढ्दै गएको मात्र छैन, कैयौंले मुद्दासमेत हालेका छन् ।
ट्रेडमार्क नक्कल र विवादलाई लिएर भदौ २०६८ यता मात्र १ हजार ८ सय ९३ उजुरी परेका छन् । तर तीमध्ये २ सय ९ को मात्र फैसला भएका छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरूको समेत नक्कल गरेका सामग्री बजारमा छ्यापछ्याप्ती पाइन्छन् । जस्तो– कोकाकोला जस्तै देखिने चिलकोला । चिलकोला मनकामना फुड एन्ड बेभरेज प्रालिले बिक्री गर्दै आएको छ ।
उसले कोकाकोलाजस्तै देखिने चिलकोला दुई वर्षअघिबाट बजारमा ल्याएको हो । कोकाकोला कम्पनीले मनकामना फुड एन्ड बेभरेजविरुद्ध ट्रेडमार्ग दाबी विरोध गर्दै उद्योग विभागका महानिर्देशक नेतृत्वको इजलासमा उजुरी दिएको छ । ७ भदौ २०८० मा उद्योग विभागमा उजुरी दिए पनि अझै त्यसको सुनुवाइ र फैसला भइसकेको छैन । चिसो कोला र क्लब कोला पनि उस्तै छन् ।
बजारमा स्प्राइटजस्तै देखिने राइट र स्पोर्ट, फेन्टाजस्तै देखिने फेन्सी र फन्टु पनि छन् । माउन्टेन ड्युजस्तै देखिने मनसुन ड्यु र मेन्टेन ड्यु पनि छ । स्प्राइट, फेन्टा र माउन्टेन ड्यु प्रवर्द्धक बोटलर्स नेपालले समेत इजलासमा उजुरी दिएका छन् । तिनको पनि सुनुवाइ भएको छैन ।

झट्ट हेर्दा उस्तै देखिने इनर्जी ड्रिङ्क रेड बुल र रेड ब्लुका विषयमा पनि विवाद छ । आफ्नो ‘ट्रेडमार्क’ नक्कल गरेको आरोप लगाउँदै थाइल्यान्डको रेड बुलले भियतनामी ब्रान्ड रेड ब्लुविरुद्ध उजुरी हालेको छ । उजुरीको छिनोफानो भएको छैन । रेडबुलजस्तै देखिने रेड राइनो पनि नेपाली बजारमा पाइन्छ । रेड राइनो अम्रपाली बेभरेज प्रालिले बिक्री गर्छ । रेड राइनोविरुद्ध उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार काल्सबर्ग बियरजस्तै देखिने टेन्सबर्गविरुद्ध पनि उजुरी परेको छ । टेन्सबर्ग टाइगर ब्रुअरिज इन्डस्ट्रिज प्रालिको उत्पादन हो । विभागले यसको पनि सुनुवाइ गरेको छैन । एक्स–एक्सट्रिम इनर्जी ड्रिंकजस्तै ‘एक्स–एक्स्ट्रिम सक’ का नाममा पनि उजुरी परेको छ । एक्स–एक्स्ट्रिम सक त्रिवेणी फुड एन्ड बेभरेज प्रालिको उत्पादन हो ।

एउटा उद्योगको ट्रेडमार्क हुँदाहुँदै अर्को दर्ता भएको अवस्थामा ९० दिनको दाबी विरोधको समय दिइन्छ । दुवै पक्षलाई राखेर बहस हुन्छ । त्यसपछि उद्योग विभागका महानिर्देशकको एकल इजलासले आदेश वा फैसला गर्छ । ‘दाबी विरोधमा व्यापक उजुरी परे पनि विपक्षी उद्योगीले चिठी बुझ्न मान्दैनन्,’ उद्योग विभागका एक अधिकारीले भन्छन्, ‘जसले गर्दा फैसलामा ढिलाइ भएको हो ।’ फैसला नहुँदा एकातिर उपभोक्ता ठगिइरहेका छन् भने लगानीकर्तालाई आफ्नो ब्रान्ड चिनाउन मुस्किल परिरहेको छ ।
निम्बु पानी जस्तै देखिने मनकामना निम्बु फ्रेसविरुद्ध पनि विभागमा उजुरी परेको छ । निम्बु पानी सिंगापुर बेभरेज नेपालको उत्पादन हो । निम्बु फ्रेस मनकामना फ्रुट एन्ड बेभरेज प्रालिको उत्पादन हो । यस विषयमा १ भदौ २०८० मा उजुरी परे पनि सुनुवाइ भएको छैन । आफ्नो कम्पनीको ट्रेडमार्क नक्कल गरेकाले मुद्दा प्रक्रियामा जानुपरेको सिंगापुर बेभरेजका सञ्चालक रमेश शर्मा बताउँछन् । ‘सिंगापुरले दर्ता गरेको ट्रेडमार्क अन्यले पनि दर्ता गरेका छन्, यस विषयमा कानुनअनुसार उजुरी दिएका छौं,’ शर्मा भन्छन् ।

मनकामना बेभरेजका सञ्चालक नवराज भारती भने निम्बु र पानी मिश्रण गरेर बनाइएको उत्पादन जो कसैले बजारमा लैजान पाउने र यसमा कसैको पनि एकाधिकार हुन नसक्ने दाबी गर्छन् । ‘निम्बु र पानी देशको साझा सम्पत्ति हो, यसलाई सबैले बेच्न पाउनुपर्छ, अहिले १५ वटा कम्पनीले निम्बु पानी उत्पादन र बिक्री गर्छन्,’ उनको भनाइ छ ।
एग्रो थाई कम्पनीले क्रेजी लेमन उत्पादन र बिक्रीवितरण गर्छ । विशाल ग्रुपले पनि निम्बु ब्रान्डबाट उत्पादन बिक्री गर्दै आएको छ । ‘मानियाँ निम्बु ब्रान्डबाट पनि बिक्री हुन्छ,’ उनले भने । एसियन पेन्ट्सले पनि यती पेन्ट्सविरुद्ध ड्याम्प प्रुफको ट्रेडमार्क दाबी विरोध गर्दै उजुरी दर्ता गरेको छ । सुजल फुड्स प्रालिले चण्डेश्वरी इन्डस्ट्रिजविरुद्ध ट्रेडमार्क संरक्षणको उजुरी दिएको छ । सुजलले रसिलो हाजमोला क्यान्डीको ट्रेडमार्क संरक्षणको उजुरी दिएको हो ।

‘उस्तै नाम बनाएर उस्तै स्वादका वस्तु बजारमा आउँदा सर्वसाधारण झुक्किएका छन्,’ सुजल फुड्स प्रालिका सञ्चालक नीरञ्जन श्रेष्ठ भन्छन्, ‘तर सर्वसाधारणले पैसा तिरेअनुसार गुणस्तरीय वस्तु पाउँदैनन् । यसले वास्तविक उद्योगलाई असर पुग्छ ।’
यस विषयमा नियामक निकायले पर्याप्त ध्यान नदिँदा डिजाइन तथा ट्रेडमार्क चोरी भइरहेको उनको आरोप छ । विभागमा चामलको ट्रेडमार्क नक्कल गरिएको भनेर पनि उजुरी परेको छ । भगवती म्यानुफ्याक्चरर्सले उत्पादन गर्ने ‘नौ बजे’ चामल सुभाष ट्रेडर्स प्रालिले ‘नौ बजेअ’ नाम दिएर बिक्रीवितरण गरेको भन्दै उजुरी परेको छ ।
नाम चलेका कम्पनीप्रति उपभोक्ताको विश्वास हुन्छ । त्यसको फाइदा उठाउँदै केही कम्पनीले मिल्दोजुल्दो नाम राखेर सर्वसाधारणलाई झुक्याइरहेको उद्यमीको भनाइ छ । ट्रेडमार्क नक्कल गर्नु बौद्धिक चोरी भएकाले यस्तो काम गर्नेलाई दण्ड–जरिवाना गर्नॅपर्ने अधिवक्ता सेमन्त दाहाल बताउँछन् ।
‘ट्रेडमार्कले उद्योगको ब्रान्डलाई चिनाउँछ । सर्वसाधारणले त्यही ब्रान्ड हेरेर उद्योग चिन्ने हुन् । तर ट्रेडमार्क चोरी हुँदा सर्वसाधारणमा द्विविधा हुन्छ । अन्ततः पैसा तिरेअनुसार उपभोक्ताले गुणस्तरीय वस्तु पाउँदैनन् । र, उनीहरू पनि ठगिन्छन्,’ दाहाल भन्छन्, ‘नक्कली ट्रेडमार्कको नियन्त्रणका लागि पर्याप्त कानुन नभएकाले पनि समस्या भएको हो । बौद्धिक सम्पत्तिसम्बन्धी विधेयक संसद्मा पेस भएको छ । विधेयक पास भएपछि न्यायिक अदालत बन्छ र यसले अवैध काम नियन्त्रण गर्न सजिलो हुन्छ ।’

वस्तु उत्पादन मात्र नभएर सेवा क्षेत्रमा समेत नक्कली ट्रेडमार्कका विषयमा पनि उजुरी परेको छ । काठमाडौंको अनामनगरस्थित भेटघाट रेस्टुराँले गैरकानुनी ट्रेडमार्क प्रयोग गरेको भन्दै भेटघाट रेस्टुराँ चितवन र भेटघाट रेस्टुराँ पोखराविरुद्ध उजुरी गरेको छ । १ साउन २०८० मा विभागमा परेको उजुरीको अझै सुनुवाइ भएको छैन । क्यास्ट्रोल लिमिटेडले जैसवाल लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिविरुद्ध उजुरी गरेको छ । जैसवालले क्यास्ट्रोल मोबिल जस्तै देखिने फास्ट्रोन मोबिल उत्पादन गर्दै आएको छ ।
गोपाल सोप उद्योगले पदमा सोप एन्ड केमिकल उद्योगविरुद्ध ट्रेडमार्क दाबी विरोध गरेको छ । उसले नउलो संग्राम साबुनमा ट्रेडमार्क दाबी विरोध गरेको हो । शशि डिस्टिलरी प्रालिले देवचुली डिस्टिलरी प्रालिविरुद्ध ट्रेडमार्क दर्ता बदरको उजुरी दिएको छ ।
असोज २०८० मा विभागमा उजुरी दिए पनि यसको सुनुवाइ भएको छैन । देवचुली डिस्टिलरी प्रालिले पनि क्रिस्टल बोटलर्स प्रालिलाई ट्रेडमार्कको दर्ताविरुद्ध उजुरी दिएको छ । श्रीराम टोबाको उद्योग प्रालिले रौतहट पान मसला उद्योग प्रालिविरुद्ध पनि ट्रेडमार्क दाबी विरोध गरेको छ । श्रीरामले रिपुराज गोल्ड गुड्खामा ट्रेडमार्क दाबी विरोधको उजुरी गरेको हो ।

ट्रेडमार्क चोरीले उद्योगको बौद्धिक सम्पत्तिलाई हानि पुर्याउने उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । ‘उद्योगको बौद्धिक सम्पत्ति संरक्षण गर्ने दायित्व राज्यको हो,’ बानियाँ भन्छन्, ‘सर्वसाधारण पनि सक्कलीको पैसा तिरेर नक्कली वस्तु उपभोग गर्न बाध्य छन् । यसले गुणस्तरमा असर परेको छ, सर्वसाधारणको स्वास्थ्यमा पनि खेलबाड भएको छ ।’
नक्कली ट्रेडमार्कको विषय हेर्ने अधिकार उद्योग विभागलाई रहेको वाणिज्य विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘बजारमा हेर्दा ट्रेडमार्क चोरी र नक्कली वस्तुको आयात धेरै छ, भारतबाट चामल ल्याएर यहाँ प्याकेजिङ गरेर सस्तोमा बिक्री गरिन्छ । नेपाली ट्रेडमार्कमा पनि बिक्री हुन्छ,’ दाहाल भन्छन्, ‘नक्कली वस्तुका विषयमा वाणिज्यमा पनि उजुरी परेको छ ।’

उस्तै ट्रेडमार्कको विवाद बर्सेनि बढेको उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओली बताउँछन् । वार्षिक करिब ५ सय उजुरी पर्ने गरेको उनको भनाइ छ । ‘उजुरी परेपछि सामान्यतया दर्ता प्रक्रिया, कम्पनी र ब्रान्ड हेरिन्छ,’ उनी भन्छन्, ‘सोही आधारमा महानिर्देशकको एकल इजलासले फैसला गर्छ ।’ महानिर्देशकको इजलासले गरेको फैसला चित्त नबुझे उद्योगीहरू उच्च अदालत जान सक्छन् । तर उच्च अदालतबाट विभागकै फैसलालाई सदर गर्ने गरिएको विभागले जनाएको छ ।

